काठमाडौँ, १३ फागुन ।रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका खबर आइरहेका छन्।

सीएनएनको एउटा टोलीका अनुसार शुक्रवार सखारै मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको थियो।

आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताए।

युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ।

जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।

एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन्।   राष्ट्रपति जेलेन्सकीले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा रुसले ध्वस्त पार्न चाहेको बताएका छन्।

रुस भित्रै प्रदर्शन, सयौँ मानिस गिरफ्तार

युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

राजधानी मस्को, सेन्ट पिटर्सबर्ग र अन्य मुख्य सहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो।

विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर