काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ ।
जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उहाँले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताउनुभएको हो ।
महामन्त्री डा कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवम् लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सहि गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उहाँप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पु¥याउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले सो प्रतिबद्धताका साथ पार्टीको १४औँ महाधिवेशनमा सक्रिय पार्टीका नेता कार्यकर्ताहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रजातान्त्रिक समाजवादका प्रणेता बिपीले स्थापित गर्नुभएका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकाले नै कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भएको उहाँको भनाइ छ ।
लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनःस्थापना र संरक्षण तथा विकासमा कांग्रेसका नेता तथा कार्यकर्ताले गर्नुभएको त्याग र बलिदानका कारण कांग्रेस नेतृत्वमा विसं २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको डा महतले उल्लेख गर्नुभएको छ ।
साथै विसं २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनमार्फत निरंकुश राजतन्त्र पराजित हुन गई संविधानसभा बैठकले गणतन्त्र स्थापना गरेको र कांग्रेसको नेतृत्वमै सङ्घीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास रच्न सकेको यथार्थलाई उहाँले स्मरण गर्नुभएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको र वडा तहमा नेतृत्व र प्रतिनिधि निर्वाचित भइसक्नुभएको यस अवसरमा यसपटकको बिपी जन्मजयन्तीको विशेष महत्व रहेको उहाँले बताउनुभएको छ । यसले हामीलाई बिपीले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने विश्वास लिएको सहमहामन्त्री डा महतले सो सन्देशमा उल्लेख गर्नुभएको छ ।
