अफगानिस्तान, १८ भदौ । तालिबान र विरोधी फौजबीच अफगानिस्तानको पन्जशिर उपत्यकामा लडाइँ भइरहेको विवरण आएका छन्।
तालिबानले पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन्।
तर विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकु मारिएको दाबी गरेको छ।
पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ।
अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्।
मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको फौज र सन् १९९० को दशकमा तालिबानलाई पन्जशिर उपत्यकाका छिर्न दिएका थिएनन्।
तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले वार्ता असफल भएपछि लडाकुहरू पन्जशिर उपत्यकामा प्रवेश गरेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ।
बीबीसी पर्सिअनका अनुसार विरोधी फौजका प्रवक्ता फाहिम दाश्तीले दुई पक्षले एकदमै फरक अडान लिएका कारण वार्ता असफल भएको बताउनुभएको छ ।
उहाँले दुई स्थानमा तालिबानसँग लडाइँ भइरहेको र ३५० तालिबानको मृत्यु भएको दाबी गर्नुभयो ।
दुवै पक्षको दाबीहरू पुष्टि गर्न सहज छैन।
एनएफआरका वैदेशिक सम्बन्धका प्रमुख अली नजारीले हजारौँको सङ्ख्यामा रहेको फौजका साथ पन्जशिरको रक्षा गर्नका लागि तयार रहे पनि आफूहरूले शान्ति र विकेन्द्रीकृत सरकारमा आधारित बस्ती चाहेको बताउँछन्।
कुनै समस्या उत्पन्न भए भूगोल उनीहरूको पक्षमा हुनेछ।
पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन्।
बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर पश्चिम पाकिस्तानबीच रहेको हिन्दुकुश पर्वत शृङ्खला नजिक छ।
उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन् र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ।
तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन।
पन्जशिर रक्षाका लागि उभिएकाहरूसँग पूर्व अफगान सेनाका सैन्य सवारीहरू छन्
यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन, बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भन्छन्।
न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पुर्याउँछ।
उक्त क्षेत्रमा १५०,००० देखि २००,००० बासिन्दाहरू छन् जसमध्ये लगभग सबैले पर्सिअन बोल्छन् र ताजीक जातिका हुन्।
यो वर्षौँदेखि तालिबान विरोधी जनसङ्ख्या हो।
