काठमाडौँ, १२ भदौ । विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।
जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिनुभएका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक सानेपा पुग्नुभएको थियो ।
पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनशनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिनुभयो ।
“जिल्ला सभापतिले राखेको तीनवटै मागप्रति नेतृत्व सकारात्मक देखिएको र समयमा महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ”, उहाँले भन्नुभयो । जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो ।
थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक
काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।
पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो । यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ ।
