काठमाण्डौं, १० भदौ । के पी ओली अध्यक्ष रहेको नेकपा एमालेले प्रदेश नम्बर १ को मुख्यमन्त्री परिवर्तन गरेको छ । त्यो पदमा आज विहीबार भीम आचार्यलाई नियुक्त गरिएको छ ।

यसअघि शेरधन राईले पार्टीको आन्तरिक सहमतिमा मुख्यमन्त्री र संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई बाटो खुला गर्नुभएको थियो ।

नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई सो पार्टीको आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गरेको थियो । तत्पश्चात् प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ पनि आजै लिइसक्नु भएको छ । तर आचार्यलाई यो पदमा टिकिरहन भने त्यति सजिलो देखिदैन ।

नयाँ मुख्यमन्त्री आचार्य पार्टी विभाजन पूर्वसम्म माधव नेपालको पक्षमा हुनुहुन्थ्यो भने राई पहिलेदेखि अहिलेसम्म ओलीकै पक्षमा हुनुहुन्छ । राई अल्पमतमा पर्ने देखिएपछि आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।

हालसालै यस्तै तरिकाले वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ ।

प्रदेश १ मा कूल ९३ सांसद छन् । त्यसमा हाल नेकपा एमालेका ५१ सांसद छन् । यो भनेको सरकार बनाउनको लागि बहुमत रहेको सहज अवस्था हो । त्यहाँ सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ ।

तर यता माधवकुमार नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी नामको दल दर्ता गराइ सक्नुभएको छ । उहाँको दलले हिजै निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको छ ।

एमाले विधिवत् विभाजित भैसकेको यो अवस्थामा अब नेपालको नयाँ समाजवादी पार्टीमा ओलीको एमालेबाट कति सांसद जान्छन् त्यसमा आचार्यको मुख्यमन्त्री पदको आयु निर्भर हुन्छ ।

माधव नेपालको नेकपा एकीकृत समाजवादीका नेताहरूले एमालेबाट आफ्नो पार्टीमा कम्तिमा पनि ७ जना आउने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर