काठमाण्डौं, २ भदौ । मधेसी राजनीतिक दल जनता समाजवादी पार्टी आजबाट विधिवत् विभाजित भएको छ । विभाजित पार्टीको नाम जसपा (लोकतान्त्रिक ) राखेर आजै महन्थ ठाकुर पक्षले निर्वाचन आयोगम दल दर्ताको निवेदन दिएको छ ।उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ ।
निकै लामो समयदेखि नेताहरूको आपसी किचलोमा परेको यो पार्टीबारे निर्वाचन आयोगले उपेन्द्र यादवको समूहलाई आधिकारिकता प्रदान गरेपछि जसपाका वरिष्ठ नेता महन्थ ठाकुर यता न उताको अवस्थामा पुगेको थिए ।
ठाकुर एमाले अध्यक्ष केपी ओलीको लाइनमा र उपेन्द्र यादव काँग्रेस, माओवादी प्रचण्ड र एमालेकै नेता खनाल-नेपाल समूहको गठबन्धमा सामेल छन् ।
यो गठबन्धनले ओलीलाई सत्ताच्युत गरेर काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्मा सरकार बनाएको छ ।
गठबन्धनका प्रधानमन्त्री देउवाले दुइ दिन अघि संसदको अधिवेशन अन्त्य गराएर त्यसको भोलिपल्टै दल विभाजन गर्न सजिलो हुने अध्यादेश ल्याउने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्नु भएको थियो ।
सोही अनुसार तुरून्तै, आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्नुभयो ।
अनि आजै जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो । जसपा (लोकतान्त्रिक ) को अध्यक्ष महन्त ठाकुरलाई बनाइएको छ । वरिष्ठ नेतामा राजेन्द्र महतोसहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ ।२४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने भनाइ छ ।
त्यसै गरी एमालेका नेता माधवकुमार नेपाल समूहले पनि त्यही अध्यादेशको सुविधा प्रयोग गरेर नयाँ दल दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नाम नामाकरण गरिएको यसको अध्यक्ष माधवकुमार नेपललाई बनाइएको छ ।
