बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।
केसीलाई नेपाली कांगे्रस लगायत चारदलीय गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले आज बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो ।
गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार भएका केसीले नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका थिए । उहाँ रोल्पा, लिवाङको हुनुहुन्छ ।
दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने विषयमा प्रदेशसभा बैठकमा निर्णय हुँदै गर्दा आन्तरिक मामिला तथा योजना मन्त्री रहनुभएको थियो ।
