काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।

शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेताहरुको बैठकले पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेको र वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेकोले वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन ।

कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो । क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् । तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो । विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठूलो चुनौती छ ।

प्रतिक्रिया

सम्बन्धित खवर