काठमाडौँ, १८ असार । नेकपा एमालेले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमत्री बनाउन गरेको माधव नेपालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिन दुई दिनको म्याद दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको केन्द्रीय कमिटीको बैठकले सो म्याद हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।
सो दलको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी; केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध र विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर गरिनु दुःखद् भएकाले पार्टीको एकता र देशको आवश्यकताबमोजिम त्यस्तो हस्ताक्षर फिर्ता लिन र पार्टीका काममा सक्रिय हुन नेता माधवकुमार नेपाललगायतका नेताहरुलाई आग्रह गर्नुभएको हो ।
अध्यक्ष ओलीले आउँदो सोमबार साँझसम्मका उक्त हस्ताक्षर फिर्ता लिन समयसीमा पनि दिनुभएको छ । अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष वामदेव गौतमलाई विशेष भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठनबन्धनमा सामेल हुँदै नेता नेपालसहित एमालेका २३ निवर्तमान सांसद्ले सर्वोच्च अदालतमा दायर प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा हस्ताक्षर गर्नुभएको छ ।
बैठकमा उक्त प्रस्ताव महासचिव ईश्वर पोखरेलले पेस गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च जानुभएको छ । सो मध्ये नेपाल पक्षका २३ सांसद हुनुहुन्छ ।
