काठमाडौँ, २ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव वाङ स्याओहुईबीच भेटवार्ता भएको छ ।

चेङ्दुमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धिमा केन्द्रित गर्दै व्यवहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रवक्ता खरेलले जारी गर्नुभएको विज्ञप्तिमा उक्त भेटवार्तामा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति र पर्यटनका विषय छलफल भएको थियो ।

त्यसअवसरमा नेपाली प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताप्रतिको सम्मानमा आधारित रही आएकाले यी मान्यता तथा सिद्धान्तलाई सदैव उच्च सम्मान गर्ने जानकारी गराएको थियो ।

छलफलमा नेपाली टोलीले रास्वपा र सरकारको नेतृत्व चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहेको जानकारी गराएको थियो ।

प्रतिनिधिमण्डलले एक–चीन सिद्धान्त नेपालको दशकौँदेखिको महत्त्वपूर्ण र स्थिर अडान भएको पुनः स्पष्ट पार्दै रास्वपा र सरकारले त्यस अडानलाई निरन्तरता दिने तथा चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विषय स्पष्ट पारेको थियो ।

बलियो राजनीतिक विश्वासले मित्रतालाई दिगो बनाउने उल्लेख गर्दै प्रतिनिधिमण्डलले चीनले रास्वपालाई पारदर्शी, विश्वासीलो र सिद्धान्तनिष्ठ साझेदारका रूपमा रहेको जानकारी गराएको थियो ।

प्रतिनिधिमण्डलले राजनीतिले विकास तथा साझा समुन्नतीको लक्ष्य प्राप्तिमा सहजीकरण गर्नेमा जोड दिँदै सहकार्यका लागि पाँच प्राथमिकताको क्षेत्रको प्रस्ताव गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिमण्डलले पछिल्ला विपद्ले बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको थियो ।

प्रतिनिधिमण्डलले हिमालपारिको व्यापार र आवागमन सुरक्षित तथा भरपर्दो बनाउन सहकार्यको प्रस्ताव गरेको उल्लेख गरिएको छ ।

त्यस्तै पर्वतीय विज्ञान, सूचना आदानप्रदान र विपद् उथ्थानीशल्तालाई दोस्रो क्षेत्रको रूपमा प्रस्ताव गरेको छ ।

मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक र विपद् पूर्वतयारीमा ज्ञान तथा सूचना आदानप्रदानले जनधनको क्षति घटाउन सक्ने प्रतिनिधिमण्डलले उल्लेख गरेको छ ।

यस्तै भरपर्दो हवाई सम्पर्क, पर्यटन र व्यापार प्रवर्द्धनमा नेपाली प्रतिनिधिमण्डलले जोड दिएको छ चेङ्दुबाट काठमाडौँ, पोखरा र भैरहवातर्फ थप प्रत्यक्ष उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले भरपर्दो तथा दीगो सीमापार यातायात पूर्वाधार निर्माण, पर्वतीय अध्ययन र विपद् उत्थानशीलताको लागि सहकार्य, स्वच्छ ऊर्जा र हरित उद्योग प्रवर्द्धन, हवाई सम्पर्क, व्यापार, तथा डिजिटल नवप्रवर्तनको सहकार्यलाई साझा प्राथमिकताका रूपमा अगाडि सारेको थियो ।

त्यसअवसरमा महामन्त्री आचार्यले भोटेकोशी विपद् ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै विपद्पश्चात् चीनले आफ्नै भूमिमा उद्धार र राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यहाँको प्रान्तीय जनकांंग्रेसका स्थायी समिति अध्यक्ष रहनुभएको वाङ्ले प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराउनुभयो । गत भदौमा रसुवाको सीमावर्ती क्षेत्रको बाढीले दुवै देशमा जनधनको क्षति गरेको स्मरण गर्दै राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले समवेदना सन्देश पठाएको स्मरण समेत गराउनुभएको थियो ।

उहाँले दुवै देशले मिलेर कठिनाइको सामना गरेको घटनालाई परम्परागत मित्रताको उत्कृष्ट उदाहरणको सङ्ज्ञा दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर