अबुधाबी, १७ कात्तिक । अमेरिकाले रसिया–युक्रेन युद्ध अन्त्यका विषयमा अबुधाबीमा त्रिपक्षीय छलफल आयोजना गर्ने भएको छ । नोभेम्बर १० र ११ मा हुने यस छलफलमा युक्रेन र रुसको प्रतिनिधिमण्डल एउटै टेबुलमा बस्नेछन् ।
वार्ताका दौरान युद्धपछिको सुरक्षा सम्झौता र तनाव न्यूनीकरणका विषयमा छलफल हुने अमेरिकी दूत स्टिभ जानकारी दिएका छन् ।
लामो समयदेखि जारी यो द्वन्द्वमा जाडो याम सुरु हुनुअघि नै कूटनीतिक सफलता हासिल गर्ने प्रयास अमेरिकी मध्यस्थकर्ताहरुले गरिरहेका छन् । यसअघि इरान युद्ध सुरु हुनअघि गत फेब्रुअरीमा अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता भएको थियो । तर उक्त वार्ता सफल हुन सकेन ।
अमेरिकी दूत विटकफले सामाजिक सञ्जालमा लेख्दै आबुधाबीमा हुने नयाँ चरणको छलफलले युद्धपछिको सुरक्षा सम्झौता, तनाव न्यूनीकरण, मानवीय सहायताका उपायहरू र युद्ध अन्त्य गर्ने विषयहरूलाई समेट्ने बताएका छन् ।
रोयटर्सलाई एक वरिष्ठ अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार आबुधाबीमा हुने वार्तामा मुख्य अमेरिकी वार्ताकारका रूपमा विटकफ र जारेड कुश्नरले अमेरिकाको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।
दोस्रो विश्वयुद्धपछिकै युरोपको सबैभन्दा भीषण रक्तपातपूर्ण द्वन्द्व रोक्न अमेरिकाले बढाएको पछिल्लो प्रयासस्वरूप दुई साताअघि सेन्ट पिटर्सबर्गमा विटकफले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग भेटेका थिए । यस भेटपछि पुटिन त्रिपक्षीय वार्ताको नयाँ श्रृंखलाका लागि सहमत भएका हुन्।
एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी वार्ताकारहरूले यसै साता ब्रसेल्समा फ्रान्स, जर्मनी, बेलायत, युरोपेली युनियन र नाटोका प्रतिनिधिहरूसँग कार्यदल स्तरमा बैठक गर्दैछन् । उक्त बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टी, युरोपको भावी सुरक्षा खाका र युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग सम्बन्धी विषयमा छलफल हुनेछ ।
‘विगतका छलफलहरूलाई निरन्तरता दिँदै आयोजित यी बैठकहरूले रसिया र युक्रेनबीच दिगो शान्ति सम्झौता कायम गराउन राष्ट्रपति ट्रम्पले गरिरहेको निरन्तर प्रयासलाई दर्शाउँछ,’ अधिकारीले भने ।
सम्भावित शान्ति सम्झौताका सर्तहरूलाई लिएर युक्रेन र रसियाबीच अझै पनि धेरै मतभेद छन् । यद्यपि, ट्रम्पले पछिल्लो समय युक्रेनलाई कुनै न कुनै सम्झौतामा आउन दबाब बढाएका छन् । रोयटर्स
