किएभ, १७ कात्तिक । युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युद्धविराम सकिएको केही घण्टामै भएको आक्रमणले शान्तिको आशा कमजोर बनाएको युक्रेनले जनाएको छ ।
रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता पुर्याउन गत मङ्गलबारदेखि सुरु भएको युद्धविराम आइतबार समाप्त भएको थियो । सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता यो दुई देशबीचको सबैभन्दा लामो युद्धविराम थियो ।
युक्रेनी अधिकारीहरूका अनुसार युद्धविराम सकिएलगत्तै जापोरिज्जियाको एउटा गाउँमा रुसी सेनाले पटकपटक हवाई आक्रमण गरेको थियो । त्यसबेला स्थानीय विद्यालयमा सहायता लिन मानिसहरू भेला भएका थिए ।
मृतकमध्ये दुई उद्धारकर्मी र चार प्रहरी अधिकारी रहेको कार्यवाहक क्षेत्रीय गभर्नर मिखाइलो सेमिकिनले बताउनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सहायता लिन पुगेका मानिसमाथि पहिलो आक्रमणपछि आश्रयस्थललाई लक्षित गरी पुनः बमबारी गरिएको बताउनुभयो । मृत्यु हुने उद्धारकर्मीमा ४४ वर्षीय डेनिस कोनोभालेन्को र ओलेक्सी सुशेभस्की रहेको आपत्कालीन सेवाले जनाएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको ओलेस्कीको मानवीय सहायता अभियानमा रुस र युक्रेनका मानव अधिकार अधिकारीहरूले सहकार्य गरेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अभियान सफल भएको बताउनुभए पनि तत्काल अर्को अभियानको योजना नरहेको जनाउनुभयो ।
युक्रेनले युद्धविरामका बेला रुसले आफ्नो सैन्य स्थिति बलियो बनाएको आरोप लगाएको छ । युद्धविराम थप्ने युक्रेनको प्रस्ताव रुसले अस्वीकार गरेको थियो । पेस्कोभले भने युद्धविरामको समय सैन्य पुनःसमूहबद्धीकरणमा प्रयोग गर्नु सामान्य अभ्यास भएको बताउनुभयो ।
यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार रुस–युक्रेनबीचको अमेरिकी नेतृत्वमा भइरहेको वार्ता नोभेम्बर १० र ११ मा अबु धाबीमा पुनः सुरु हुनेछ ।
युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिए पनि ठोस उपलब्धि हुन सकेको छैन । ट्रम्प मस्कोको पक्षमा झुक्न थालेको भन्दै युक्रेन र उसका युरोपेली सहयोगीहरू चिन्तित छन् ।
युद्धविराम समाप्त भएको केही घण्टापछि रुस र युक्रेनका आपत्कालीन सूचना दिने मोबाइल एपहरूमा साइबर आक्रमण भएको दुवै देशले जनाएका छन् । युक्रेनले लाखौँ मानिसलाई विकिरणको जोखिमबारे गलत सूचना पठाइएपछि आफ्नो हवाई आक्रमण चेतावनी प्रणालीमा अनधिकृत पहुँच भएको आशङ्का गरेको छ । रुसले पनि आफ्नो आपत्कालीन अवस्था मन्त्रालयसँग सम्बन्धित एप ह्याक भएको जनाएको छ ।
यस वर्ष रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाउँदै ब्यालिस्टिक क्षेप्यास्त्र र तीव्र गतिका जेट इन्जिनयुक्त ड्रोन प्रयोग गरिरहेको छ । यस्ता हतियार रोक्न कठिन हुने बताइएको छ । एएफपी
