काठमाडौँ, १५ कात्तिकः देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै रु नौ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा, हिमपात र जनावरको आक्रमणका घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका १७ घटना भएका छन् । त्यस्तै अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच-पाँच, सर्पदंश र जनावरको आक्रमणका चार-चार तथा हिमपातको एउटा घटना भएका उहाँले जानकारी दिनुभयो ।

विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । विपद्का घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी छ ।

प्राधिकरणले सम्भावित विपद्को जोखिमबाट बच्न अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र आवश्यक पूर्वतयारीमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर