काठमाडौँ, १५ कात्तिक । रुसको बढ्दो हवाई आक्रमणबाट युक्रेनको रक्षा गर्न अमेरिकाले पाँच सय वटा प्याट्रिअट क्षेप्यास्त्र बिक्री गर्ने भएको छ । अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनका अनुसार ती क्षेप्यास्त्र बिक्रीका लागि सरकारले स्वीकृति दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पिएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको मूल्य दुई अर्ब १० करोड डलर पर्ने छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र यथाशीघ्र उपलब्ध गराउन शुक्रबार पुनः आग्रह गर्नुभएको थियो । उहाँका अनुसार रुसका ब्यालेस्टिक क्षेप्यास्त्रलाई आकाशमै निस्तेज पार्ने एक मात्र हतियार प्याट्रिअट प्रणाली हो ।

यो पछिल्लो निर्णय यसै महिनाको सुरुमा जेलेन्स्की र अमेरिकका राष्ट्रपति डोनल्ड ट्रम्पबिच भएको विवादपछि आएको हो । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “यो प्रस्तावित बिक्रीले युरोपको राजनीतिक र आर्थिक स्थिरताका लागि महत्वपूर्ण भूमिका खेल्ने साझेदार राष्ट्रको सुरक्षा सुदृढ गर्दै अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्य हासिल गर्न सहयोग पुर्‍याउने छ ।”

जेलेन्स्कीले यसै साताको सुरुमा युक्रेनमा क्षेप्यास्त्रको मौज्दात अत्यन्तै कम भइरहेका बेला अत्यावश्यक क्षेप्यास्त्र आपूर्तिका लागि अमेरिकी स्वीकृति पाउन झन्डै एक महिना कुर्नु परेको बताउनुभएको थियो । उहाँले अमेरिकी घोषणाको स्वागत गर्दै युक्रेनलाई प्याट्रिअट क्षेप्यास्त्रको तत्काल खाँचो परेकोमा जोड दिनुभएको छ ।

उहाँका अनुसार जाडो याम नजिकिँदै गर्दा रुसले युक्रेनका महत्वपूर्ण ऊर्जा पूर्वाधारमाथिको आक्रमण तीव्र बनाइरहेको छ । पछिल्लो दुई सातामा मात्रै युक्रेनको विद्युत् प्रसारण प्रणालीका महत्वपूर्ण संरचनामाथि रुसले ३० भन्दा बढी आक्रमण गरेको छ । रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौता अन्तर्गत अमेरिकाले रुसमाथिका प्रतिबन्धहरू खुकुलो पारेपछि दुई नेताबिच मतभेद बढेको थियो ।

ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनमा नयाँ नेतृत्व आउनुपर्ने समय भएको बताएसँगै जेलेन्स्की सशङ्कित हुनुभएको छ । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेको थियो । त्यसअघि नै उसले क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग कब्जा गरिसकेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर