साउदी अरेबिया, ३० असोज । साउदी अरेबियाले मक्काको एक मस्जिदमा अनैतिक कार्य गरेको मुद्दामा दोषी ठहर भएका बंगलादेशका एक पुरुष र एक महिलालाई मृत्युदण्ड दिएको छ।
साउदी गृह मन्त्रालयका अनुसार मृत्युदण्ड दिइएका व्यक्ति नजरुल इस्लाम अब्दुल बसिर र सिती अख्तर हुन्।
साउदी प्रेस एजेन्सी (एसपीए) ले प्रकाशित गरेको विज्ञप्तिअनुसार मक्काको मस्जिदभित्र अश्लील कार्य गरेको आरोपमा सुरक्षा अधिकारीहरूले उनीहरूलाई पक्राउ गरेका थिए। अनुसन्धानपछि उनीहरूमाथि औपचारिक आरोप लगाएर मुद्दा अदालतमा पठाइएको थियो।
अदालतले दुवैलाई दोषी ठहर गर्दै इस्लामिक कानुनअन्तर्गत ताजिर भनिने विवेकाधीन सजायस्वरूप मृत्युदण्ड सुनाएको हो। गृह मन्त्रालयका अनुसार अपराधको गम्भीरता, मस्जिदको पवित्रताको उल्लंघन र घटनाको परिस्थितिलाई ध्यानमा राखेर अदालतले यस्तो फैसला गरेको हो।
सम्बन्धित न्यायिक निकायले फैसलालाई सदर गरेपछि सजाय कार्यान्वयनका लागि शाही आदेश जारी भएको थियो। त्यसपछि बुधबार मक्का क्षेत्रमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो।
गृह मन्त्रालयले मस्जिदको पवित्रताको रक्षा गर्ने, सुरक्षा कायम राख्ने, न्याय सुनिश्चित गर्ने र इस्लामिक कानुन लागू गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएको छ।
साथै, यस्ता कार्यमा संलग्न हुनेले साउदी अरेबियाको कानुनअनुसार सजाय भोग्नुपर्ने चेतावनी पनि दिएको छ।
