मोरङ, १९ असोज । विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट ९.३७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राईलाई शङ्का लागी जाँच गर्ने क्रममा कृष्णा राईको साथबाट ४.४७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरी, विराटनगर–१६ स्थित दक्षिण गेटबाट भारततर्फबाट नेपाल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय शुसान्त वि।क। र २० वर्षीय निर्मल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जाँचका क्रममा शुसान्त वि।क।को साथबाट ४.९० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै घटनामा पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
