मुस्ताङ, १५ असोजः भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन् ।

गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पु¥याएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिनुभयो ।

“कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” भन्सार प्रमुख चुडालले भन्नुभयो, “भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।” तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उहाँले बताउनुभयो ।

भारी वर्षा अघि मालसामान ढुवानी गर्न कोरलानाका पुगेका मालवाहक कन्टेनर भन्सार जाँचपास प्रक्रिया सकेपनि सडक अवरुद्ध भएकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी यार्ड क्षेत्रमा रोकिएका प्रमुख चुडालले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्”, उहाँले भन्नुभयो, “चीनबाट मालवस्तु पैठारी गरिएका कन्टेनर पनि सडकको अवस्थाले गर्दा तल झर्न सकिरहेका छैनन् ।”

चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा राजस्व सङ्कलनमा राज्यले घाटा व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले बताउनुभयो । उहाँका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोड बढी राजस्व सङ्कलन गर्दै आइरहेको थियो ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् ।

यसैगरी, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

जोमसोम–कोरला सडक सञ्चालन

वर्षाका कारण अवरुद्ध बनेको जोमसोम–कोरला खण्ड आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कालीगण्डकी करिडोर, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड गाउँपालिका र सुरक्षा निकायको पहलमा पहिरो पन्छाउने तथा सडक सफा गर्ने काम गरिएसँगै पाँच दिनपछि आवागमन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार पर्वत मालढुङ्गाबाट म्याग्दीको बेनीसम्म पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण—३ रुप्सेसम्म २५ र मुस्ताङको काभ्रेभीरबाट कोरलानाकासम्म १६ स्थानमा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुङ्गाबाट गलेश्वरसम्म र म्याग्दीको दानाबाट कोरलानाकासम्मको सडक मर्मतसम्भारपछि सञ्चालनमा आइसकेको छ ।

अवरुद्ध कोरलाको म्याग्दी खण्डको सडक मर्मत तथा स्तरोन्नति कार्य थप जटिल र चुनौतीपूर्ण रहेको आयोजना प्रमुख तेजश्वी शर्माले उल्लेख गर्नुभयो । भारी वर्षाका कारण आएको बाढीपहिरोले म्याग्दी रघुगङ्गाको सडक तथा बैसरी–१, २, ३ र सिरुवारी खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, म्याग्दी खण्डको तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोज बाढीले बगाएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरोले तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे, महभीरलगायत स्थानका सडकमा क्षति पु¥याएकाले मर्मत गरी सञ्चालनमा ल्याउन केही समय लाग्ने उहाँले बताउनुभयो । सडक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उहाँको भनाइ छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर