काठमाडौँ, १० असोज । शुक्रवार आएको वर्षाका कारण आएको बाढीपहिरो र हावाहुरीका कारण देशभरमा दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । एक जना घाइते र पाँचवटा घरमा क्षति पुग्नुका साथै २९ मार्ग अवरुध्द भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार सो वर्षाका कारण देशका विभिन्न भागमा क्षति भएको हो। मृत्यु हुनेमा धादिङका एक जना र डोल्पाका एक जना रहनुभएको प्राधिकरणले जनाएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ का ३३ वर्षीय मनरुप केसीको गाईगोठमा सुतिरहेको अवस्थामा भिरबाट ढुंगा खसेर उहाँलाई लागेको थियो । उहाँ गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य चौकी लैँजादै गर्दा मृत्यु भएको थियो । सोही घरमा सुतिरहनुभएका ३८ वर्षीय चन्द्ररुप केसी घाइते हुनुभएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका, वडा नं २ का ५५ वर्षीया सुकुमाया चेपाङ्गलाई खानीखोला तर्ने क्रममा खोलाले बगाएको थियो । मलेखुस्थित अस्पतालमा उपचारका क्रममा चेपाङ्गको मृत्यु भएको थियो । पहिरोमा परी पाल्पा रुम्दीकोट गाउँपालिका वडा नं ६ का ५९ वर्षीया कृष्णकुमारी सारु शनिबार दिउँसो २ः४५ बजेदेखि बेपत्ता हुनुभएको छ । पहिरोले घर पुरिएपछि सारु हालसम्म सम्पर्कविहीन रहनुभएको प्राधिकरणले जनाएको छ।

वर्षाका कारण पाल्पाको रुम्दीकोट गाउँपालिकाका दुईवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण पुरिँदा स्थानीय केशुराम सारु मगर र रामबहादुर उचाईको घर क्षतिग्रस्त भएका हुन् । त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका ३ का धनप्रसाद योङ्गहाङ्गको घर ढली पूर्णरुपमा क्षति भएको थियो ।

ओखलढुंगाको सिद्धिचरण गाउँपालिका, वडा नं २ का भीमबहादुर कार्कीको घरको गारो भत्किएको छ । त्यसैगरी अछामको तुर्माखाँद गाउँपालिका ४ मा हावाहुरीका कारण कच्ची घरको जस्तापाता उडाएपछि उहाँहरुको परिवार छिमेकीको घरमा बसिरहनुभएको छ ।

निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र लेदोसहितको बहावले देशको विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सडकखण्ड अवरुद्ध भएका छन् । प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार शनिबार बिहान ७ बजेसम्म कुल २९ वटा मुख्य सडकखण्ड प्रभावित भएका छन् । प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।

कोशी प्रदेशको सुनसरी, पाँचथर, इलाम र सोलुखुम्बु क्षेत्रका चतरा–बराहक्षेत्र, मध्यपहाडी लोकमार्ग, राँके–रवि–भेडेटार, मेची करिडोर तथा सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

बागमती प्रदेशका काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्गका विभिन्न खण्ड (कृष्णभिर, टिढराखानी, परेवाटार), कान्ति लोकपथ, मदन भण्डारीरअरनिको राजमार्ग, बिपी राजमार्ग र कुलेखानी–सिस्नेरी खण्ड पहिरो तथा बाढीका कारण प्रभावित भएको छ । अरनिको राजमार्गको धुलिखेल–पकुचा खण्ड भने एकतर्फी सुचारु रहेको छ ।

गण्डकी प्रदेशका मनाङको चामे–बेशीशहर खण्ड, म्याग्दीको बेनी–जोमसोम सडक र पर्वतको पोखरा–बेनी–बागलुङ सडक पहिरो तथा रुख ढलेका कारण अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशका कालिगण्डकी करिडोर, मदनभण्डारी राजमार्ग (स्यालबिसौना), सिद्धार्थ राजमार्ग (केराबारी) र घोराही–थवाङ सहिदमार्ग पहिरोका कारण ठप्प छन् ।

कर्णाली प्रदेशको कालिकोटको शुभकालिकास्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोटस्थित राप्ती राजमार्ग पहिरोका कारण बन्द रहेका छन् । सडक विभाग तथा सुरक्षा निकायको टोली पहिरो पन्छाउने र अवरुद्ध राजमार्गहरूलाई पुनः सञ्चालनमा ल्याउने कार्यमा निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ । सर्वसाधारणलाई सडकको स्थिति बुझेर यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर