काठमाडौ, १६ साउन । पाकिस्तानमा अवस्थित विश्वकै १२औँ अग्लो ब्रोड पिक (आठ हजार ४७ मिटर) हिमालमा गएको विनाशकारी हिमपहिरोमा परेका १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूमध्ये हालसम्म आठ जनाको शव फेला परिसकेको छ भने बाँकी दुई जनाको खोजी भइरहेको छ।

पाकिस्तानको प्रतिष्ठित सञ्चारमाध्यम जियो न्युजले पिक बेस क्याम्पबाट बाहिर आएका रिपोर्टहरूले हिमपहिरोमा परेका सबै पर्वतारोहीको मृत्यु भएको हुन सक्ने आशंका उल्लेख गरेको छ ।

यद्यपि, यी रिपोर्टहरूलाई पाकिस्तानी अधिकारीहरू वा पाकिस्तानको अल्पाइन क्लबले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

बिहीबार बिहान हिमालको क्याम्प तीन नजिकै छ हजार ६ सय मिटरको उचाइमा आरोही टोलीमाथि हिमपहिरो खसेको थियो। प्रतिकूल मौसमका कारण शुक्रबार स्थगित भएको उद्धार कार्य शनिबार बिहानैदेखि पुनः सुचारु गरिएको हो।

फेला परेका शवहरूमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ (युक्त) र अमेरिकी म्यालोरी गीसको पहिचान भइसकेको छ भने अन्य शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ।

उक्त अन्तर्राष्ट्रिय टोलीको नेतृत्व विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) ले गरेका थिए। हालसम्म फेला परेका शवहरूमा पुर्जा नपरेको र उनीसहित दुई जना अझै बेपत्ता सूचीमा रहेको जियो न्युजले जनाएको छ।
४३ वर्षीय पुर्जाले यसै हप्ता सामाजिक सञ्जाल एक्समार्फत अक्सिजनबिना दोस्रो पटक विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमानको नजिक पुगेको जानकारी गराएका थिए।

यस घटनामा नेपालका प्रसिद्ध पर्वतारोहीहरू किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, पाकिस्तानका सोहेल सखी तथा चीनका वाङ झोङ पनि समावेश थिए। बेपत्ता आरोहीहरूको खोजीका लागि अर्का चर्चित नेपाली पर्वतारोही मिङ्मा ग्याबु शेर्पाको नेतृत्वमा तीन सदस्यीय नेपाली उद्धार टोली ब्रोड पिकको आधार शिविर पुगिसकेको छ। यस्तै, बेलायती उद्धार टोली पनि पाकिस्तान आइपुग्ने क्रममा रहेको छ भने सरबाज खानको नेतृत्वमा उद्धार कार्य जारी छ।

उद्धार टोलीका अनुसार ड्रोन फुटेजमा हिमालको माथिल्लो भागमा थप शवहरू देखिएका छन्। तर बाक्लो हिउँ, निरन्तरको खराब मौसम, थप हिमपहिरोको जोखिम र कठिन भूभागका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। अहिले पाकिस्तानी सेनाको हेलिकप्टर र जमिनबाट उद्धारकर्मीहरूले एकसाथ खोजी कार्य जारी राखेका छन्।

पाकिस्तानको अल्पाइन क्लबकी नायला कियानीका अनुसार आरोहीहरूको ट्र्याकिङ उपकरण (जीपीएस) बाट प्राप्त तथ्यांकले उनीहरू पहाडको किनारबाट सयौँ मिटर तल खसेको संकेत गरेको छ। उत्तर पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा पर्ने ब्रोड पिक प्राविधिक रूपमा अत्यन्तै कठिन र जोखिमपूर्ण हिमाल मानिन्छ, जसको पहिलो पटक सन् १९५७ मा अस्ट्रियाली टोलीले आरोहण गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर