ब्रसेल्स, २२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोप्रति अमेरिकाको परम्परागत सुरक्षा प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाउन थालेपछि युरोपेली देशहरू आफ्नै सुरक्षाको जिम्मेवारी बढाउने दिशामा तीव्र रूपमा अघि बढेका छन् । यही परिवर्तनलाई थप स्पष्ट बनाउने अपेक्षासहित ३२ सदस्यीय नाटोका नेताहरू यस हप्ता टर्कीको अङ्कारामा शिखर सम्मेलनमा जुट्दै छन् ।

ट्रम्प प्रशासनले अमेरिका अब युरोपको सुरक्षाको मुख्य जिम्मेवारी एक्लै वहन गर्न नचाहेको स्पष्ट सङ्केत दिएको छ । हालै जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता बोलाउने, पोल्यान्डमा नयाँ तैनाथी रोक्ने तथा युरोपमा रहेका अमेरिकी सैन्य उपस्थितिको समीक्षा गर्ने निर्णयले नाटोभित्र नयाँ शक्ति सन्तुलनबारे बहस तीव्र बनाएको छ । अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले पनि नाटोलाई युरोपले आफ्नै सुरक्षामा नेतृत्व गर्ने सन्तुलित गठबन्धनका रूपमा विकास गर्ने नीति रहेको बताउनुभएको छ ।

रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि युरोपेली मुलुकहरूले रक्षा खर्च बढाउन थालेका थिए । ट्रम्पको दबाबपछि त्यो प्रक्रिया अझ तीव्र बनेको छ । गत वर्षको नाटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्म रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को पाँच प्रतिशतसम्म पु¥याउने लक्ष्यमा सहमति जनाएका थिए । जर्मनीले यस अभियानको नेतृत्व गरिरहेको छ भने रुससँग सीमा जोडिएका सदस्य राष्ट्रहरूले पहिलेदेखि नै उच्च रक्षा खर्च गरिरहेका छन् ।

युरोपेली कूटनीतिज्ञहरूका अनुसार अहिलेको परिवर्तन केवल ट्रम्पको नीतिसम्म सीमित छैन, बरु अमेरिका क्रमशः युरोपको सुरक्षाबाट पछि हट्ने दीर्घकालीन रणनीतिक परिवर्तनको सङ्केत हो । त्यसैले युरोपले अमेरिकाले छोड्ने जिम्मेवारी विस्तारै आफैँ सम्हाल्ने तयारी गरिरहेको छ । यद्यपि लामो दूरीका क्षेप्यास्त्र, उन्नत हवाई प्रतिरक्षा प्रणाली तथा अन्य अत्याधुनिक सैन्य क्षमतामा अमेरिकाको विकल्प तयार गर्न अझै समय लाग्ने विश्लेषण गरिएको छ ।

यद्यपि व्यावहारिक रूपमा नाटोमा अमेरिकी प्रभाव अझै कायम छ । युरोपमा करिब ८० हजार अमेरिकी सैनिक तैनाथ छन्, गठबन्धनको सर्वोच्च सैन्य कमान्ड अमेरिकाकै नियन्त्रणमा छ र अमेरिकी आणविक सुरक्षा छाता अझै पनि युरोपेली सुरक्षाको मुख्य आधार बनेको छ । केही क्षेत्रीय मुख्यालयको नेतृत्व भने युरोपेली अधिकारीहरूले सम्हाल्न थालेका छन् । यसलाई गठबन्धनभित्रको जिम्मेवारी बाँडफाँटको सुरुआतका रूपमा हेरिएको छ ।

नाटोभित्र अहिले ‘बलियो नाटोका लागि बलियो युरोप’ भन्ने अवधारणाले प्राथमिकता पाएको छ । सदस्य राष्ट्रहरू अमेरिका गठबन्धनबाट अलग होस् भन्ने पक्षमा छैनन्, बरु युरोपले बढी सुरक्षा जिम्मेवारी लिँदै अमेरिकालाई गठबन्धनमा सक्रिय राख्ने रणनीतिमा अघि बढिरहेका छन् । साथै, युक्रेनलाई युरोपेली सुरक्षा संरचनासँग थप नजिक ल्याउने प्रयास जारी रहे पनि नाटो सदस्यताको बाटो भने तत्कालका लागि बन्द नै रहेको छ । त्यसैले अहिलेको जोड युक्रेनलाई युरोपेली सङ्घ ९इयु० सँग अझ निकट बनाउने दिशामा केन्द्रित छ ।

समग्रमा, ट्रम्पको नीतिले नाटोलाई तत्काल कमजोर बनाएको नभए पनि गठबन्धनभित्रको शक्ति सन्तुलन परिवर्तन गर्दै अमेरिकामाथिको निर्भरता घटाउने र युरोपलाई आफ्नै सुरक्षाको नेतृत्वतर्फ उन्मुख गराउने प्रक्रिया तीव्र बनाएको विश्लेषण गरिएको छ । एएफपी

 

प्रतिक्रिया

सम्बन्धित खवर