न्युयोर्क, ८ असोज । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको वताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिए ।

जेलेन्स्कीले घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी गर्नुभयो । उहाँका अनुसार सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले सैनिकहरूलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा प्रत्यक्ष पुष्टि गरेको छैन ।

यद्यपि युक्रेन तथा सम्बन्धित पक्षसँग सैनिकहरूको स्वतन्त्र इच्छाको सम्मान र अन्तर्राष्ट्रिय कानून तथा मानवीय सिद्धान्तअनुसार विषय टुङ्ग्याउन परामर्श भइरहेको जनाएको छ । सैनिकहरूको स्थानान्तरणसम्बन्धी विवरण भने संवेदनशील विषय भन्दै सार्वजनिक गरिएको छैन ।

रुस र उत्तर कोरियाले सन् २०२५ को अप्रिलमा आफ्ना सैनिकले कुस्र्क क्षेत्रमा युक्रेनविरुद्ध एकसाथ लडेको पुष्टि गरेका थिए ।

दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले सन् २०२४ को अक्टोबरदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको र त्यसमध्ये करिब दुई हजारको मृत्यु भएको अनुमान गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर