काठमाडौ, ८ असोज । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै राजनीतिक विश्लेषक भरत दाहाललाई आज थुनामुक्त गर्न परमादेश दिएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो।
दाहालकी छोरी डेनी दाहालले उहाँलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
दाहाललाई प्रहरीले असोज ४ गते मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको थियो।
दाहाललाई पक्राउ गरेपछि अनुसन्धानका लागि साइबर ब्युरोले अदालतबाट तीन दिनको म्यादसमेत लिएको थियो।
