काठमाडौँ, १७ वैशाख : सङ्घीय संसद्मा रहेका तीन विपक्षी दलको आजको बैठकले जनजीविका र समसामयिक सवालमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभामा नेकपा (एमाले)का दलका नेता प्रेमप्रसाद दङ्गाल, नेपाली कांग्रेसका संसदीय दलका मुख्य सचेतक बासना थापा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दलका प्रमुख सचेतक युवराज दुलालसहितको बैठकले सुकुमवासी समस्याको दीर्घकालीन समाधानलगायत विषयमा चासो व्यक्त गरेको हो ।
बैठकपछि ती नेताहरूद्वारा जारी वक्तत्वमा बढ्दो महँगी नियन्त्रण र सार्वजनिक सुपथ मूल्य सञ्चालनमा ल्याउन, किसानलाई रसायनिक मलको समयमा प्रबन्ध गर्न, कुखुरालगायत पक्षीहरुमा देखिएको बर्डफ्लु प्रभावित किसानलाई राहत दिन आग्रह गरिएको छ ।
यसैगरी, पेट्रोलियम पदार्थको सहज आपूर्ति र सहुलियत प्याकेज दिन, विद्यार्थी सङ्गठन तथा कर्मचारी ट्रेड युनियन खारेज नगर्न र सरकारको आगामी नीति कार्यक्रम र बजेटको तयारीको छलफलमा विपक्षी दललाई सहभागी गराउन माग गरिएको छ ।
