काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उहाँलाई त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताउनुभयो । “प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ”, उहाँले भन्नुभयो, “अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।”
एमाले अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ ।
उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । उहाँलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उहाँ सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएको थियो । रासस
