काठमाडौँ, १३ माघ । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा उहाँहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले भन्नुभयो, “मतको दुरुपयोग नगर्नुहोला । सच्चा व्यक्ति र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु । अब बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्छ ।”

उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले राष्ट्र र जनताको सर्वोत्तम हित गर्न सक्ने उम्मेदवारलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले भन्नुभयो, “निर्वाचन शान्तिपूर्ण ढङ्गबाट अगाडि बढोस्, लोकतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै जनभावनाअनुसारको अघि बढ्ने परिस्थिति होस् ।”

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई संवैधानिक ‘ट्र्याक’मा ल्याउनुपर्नेमा जोड दिदै राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको छ, त्यसप्रति सम्पूर्ण नागरिक सचेत हुनुपर्छ भन्नुभयो ।

कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर