मकवानपुर, ११ माघः राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी हुनुभएको छ ।
कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा (एमाले) की मीना रखाल विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी हुनुभएको हो ।
शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गर्नुभयो । त्यस्तै, रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गर्नुभयो ।
त्यस्तै रखालका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गर्नुभएको सूचना अधिकारी चौलागाईंले बताउनुभयो । उहाँका अनुसार ६ मत बदर भएको थियो । कर्णालीमा कुल मतसङ्ख्या १९८ हुँदा प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए । त्यस्तै, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ मत खसेको थियो ।
