काठमाडौँ, ८ माघः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।
कांग्रेस मुख्यसचिव पौडेलद्वारा राजीनामा
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले आज पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिनुभएको बताइएको छ । तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो । उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
