काठमाडौँ, २७ पुस: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताउनुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”

पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यताको सङ्घर्ष भएको जनाउँदै महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा हजारौँ नरनारी सडकमा आएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको पक्षलाई मनन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मुलुकमा त्यत्रो घटना भइसकेपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अनदेखा र सामान्य घटनाका रूपमा लिन नमिल्ल्ने बताउनुभयो । महामन्त्री थापाले यो विशेष महानिधवेशनलाई नाम जस्तै विशेष बनाएर टुङ्ग्याउनुपर्ने बताउँदै आफूहरूले अधिवेशनको उद्घाटन पार्टी सभापतिले गरेको र कार्यवाहक उपसभापति उपस्थित भएको हेर्न चाहे पनि त्यो हुन नसकेको बताउनुभयो ।

कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको भएको बताउँदै उहाँले कांग्रेसले विगतदेखि नै त्यही कार्य गर्दै आएको स्मरण गर्नुभयो । महामन्त्री थापाले पार्टीका लागि निर्वाचन मात्र ठूलो कुरा नभएकाले त्यसभन्दा फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकमा भरोसा जोगाउनु छ, कांग्रेसले नै २००७ सालदेखि नडगमगाइ जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास छ । अहिलेको नवयुवामा आशा जगाइराख्न युवालाई मुलुकमै बसिराख्ने तथा कामका लागि विदेशिनुपर्ने बाध्यता हटाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउछौँ ।”

महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मन्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठूलो कोही नभएको स्पष्ट पार्नुभयो ।

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः 
महामन्त्री थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।”

महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताउनुभयो । “कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” उहाँले भन्नुभयो । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताउनुभयो ।

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह ९केस्राकेस्रा० केलाएर छलफल गरिने बताउनुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।”

उहाँले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताउनुभयो । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो ।

उहाँले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभयो ।

कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति होः महामन्त्री शर्मा
महामन्त्री शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ ।उहाँले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताउनुभयो । विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो । हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ ।”

महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने बताउनुभयो । उहाँले हामीले आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताउनुभयो । अबको परिस्थितिमा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्न र कांग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने उहाँको भनाइ थियो ।

जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत भदौ २३ गते गुमेका जीवनका बारेमा र भदौ २४ को घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीमा रुपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरुक भएको बताउनुभयो । सरकारमा बस्नेहरुले जनतालाई विश्वास जगाउन असफल भएको उल्लेख गर्र्र्दैै उहाँले सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेनजी आन्दोलन भएको धारणा व्यक्त गर्नुभयो ।

विशेष महाधिवशेनमा जनजीविकाका त्यस्ता विषयलाई बन्द सत्रमा छलफल गर्ने बताउँदै उहाँले जनताको असन्तुष्टिका विषयमा छलफल गरी सङ्कल्प गरेर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । महामन्त्री शर्माले कांग्रेसको नीतिमार्फत निजी क्षेत्रमा भएका उपलब्धिबारे अवगत गराउँदै निजी क्षेत्रलाई प्रोत्साहनका लागि आगामी दिनमा थप गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर