काठमाडौँ, २३ पुस :काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ ।
आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन ।
यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उहाँले बताउनुभयो ।
साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
