काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्नुभएको छ ।
विशेष महाधिवेशन मागकर्ता नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टीको विधानअनुसार यही पुस २७ र २८ गते यहाँ विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको बताउनुभयो ।
वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति निर्माणसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उहाँहरुको ठहर छ ।
पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४.५८ प्रतिशतअर्थात् २,४८८ जनाले गत असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गराएका थिए ।
विधानको धारा १७(१) अनुसार गत मङ्सिरभित्र १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने स्पष्ट उल्लेख गरेको भए पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन नसकेको उहाँहरुको भनाइ छ ।
पार्टी विधानको धारा १७(२) मा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रतिमा गौतम र प्रकाश स्नेही तथा देवराज चालिसे, जगदीशनरसिंह केसी, सुवास पोखरेल, मनोजमणि आचार्य, माधवप्रसाद चाम्लागाईलगायत नेताले विधानको त्यस्तो मागलाई असान्दर्भिक ठहर गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।
साथै उहाँहरुले विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गर्नुभयो ।
पदाधिकारी वा व्यक्तिगत रुपमा बोलाइएको विशेष महाधिवेशनमा संलग्न नहुन नेपाली कांग्रेसको अपिल
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको छ ।
केन्द्रीय कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई अपिल गरेको हो ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो ।
गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको निवेदनअनुसार तीन महिनाभित्र विशेष महाविधेशन गर्नुपर्ने सो पक्षले माग गर्दै आएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ ।
गत मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गतेदेखि नै स्वतः समाप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशनरमहाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रियसभा सदस्यको मनोनयनपत्र दर्ता भइसकेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागिपर्न आह्वान गरिएको छ ।
