वीरगञ्ज ९पर्सा०, २२ पुसः पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय यहाँ देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुङ्गाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । “समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन । त्यसैले सबैले एकापसमा मिलेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर हुन जरुरी छ,” उहाँले भन्नुभयो, “सदियौँदेखि चल्दै आएको सद्भावलाई कायम राखेर शान्ति अमनचयन गर्न आह्वान गर्दछु ।”

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गरेर यसको दीर्घकालीन समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । “वीरगञ्जमा विगत दुई÷चार वर्षदेखि देखिएको यो समस्या समाधान गर्नका लागि सबै पक्ष हातेमालो गरेर अघि बढ्न जरुरत भइसकेको छ,” उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल यहाँ देखिएको समस्या मौलिक नभएर अन्य कुनै ठाउँको सिको गर्ने प्रवृत्तिले पनि समस्या उब्जाउने गरेको गुनासो गर्नुभयो ।

जनता समाजवादी पार्टी ९जसपा०का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएको कुनै घटनामा आधारित भएर वीरगञ्जमा विरोध प्रदर्शन लगायतका गतिविधि गर्न नहुने धारणा व्यक्त गर्नुभयो । “अन्य मुलुकमा भएका घटनामा आधारित भएर वीरगञ्जमा विभिन्न प्रकारमा विरोध र प्रदर्शनीका गतिविधि गर्दा यहाँ निकै अप्ठेरो परिरहेको छ,” उहाँले भन्नुभयो, “वीरगञ्जलाई शान्तिक्षेत्र कायम गर्न सबैसँग अनुरोध गर्दछु ।”

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता लिँदै आइरहेको बताउनुभयो । “धार्मिक तथा सामाजिक युद्धले कसैलाई पनि फाइदा पुग्दैन । त्यसैले सबैले मिलेर एकताबद्ध हुन र शान्ति कायम गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर