काठमाडौँ, १६ पुसः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्वीकार्नुभयो ।

“चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन”, खनालले भन्नुभयो ।

निजी क्षेत्रको सम्पत्ति राज्यको पनि सम्पत्ति रहेको उल्लेख गर्दै उहाँले यसको सुरक्षा सबैको दायित्व रहेको प्रष्ट पार्नुभयो । “निजी क्षेत्र अर्थतन्त्रको इञ्जिन हो । यसलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्छ । निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि सम्पत्ति हो”, उहाँले भन्नुभयो, “मुलुकभित्र जुनसुकै क्षेत्रबाट लगानी हुनु भनेको राज्यका लागि भएको लगानी हो । त्यसमा क्षति हुनु भनेको मुलुककै सम्पत्ति माथिको क्षति हो भनेर राजनीतिक दलका कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।”

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले आर्थिक समृद्धिका लागि शान्ति र स्थायित्व पूर्वशर्त हुने बताउनुभयो । “समृद्धि हासिल गर्न शान्ति चाहियो । त्यसका लागि स्थिर र बलियो सरकार चाहिन्छ । चुनाव पछि एउटै दलले स्थिर सरकार बनाउन सकेन भने पनि अरु दल मिलेर स्थायित्वसहितको वातावरण आवस्यक छ”, उहाँले भन्नुभयो ।

असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ – कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उहाँले भन्नुभयो ।

महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताउनुभयो । ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर