काठमाडौँ, ७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गर्नुभएको छ ।

सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उहाँले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।”

उहाँले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गर्नुभयो । मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आह्वान गर्नुभयो ।

“सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,” उहाँले भन्नुभयो, “हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ ।”

प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताउनुभयो । ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उहाँले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो । जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भन्नुभयो, “हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ । देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ ।

”निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उहाँले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी गराउनुभयो ।

“सरकारले निर्वाचन मिति घोषणा भएको साढे चार महिना बितिसकेको छ, अब हामीसँग करिब दुई महिना मात्र बाँकी छ । आयोगले प्रक्रियागत रूपमा थोरै कामबाहेक सबै काम सम्पन्न गरिसकेको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो ।

उहाँले मनोनयनपत्र दाखिल भइसकेपछि सुरक्षासम्बन्धी नीति तत्काल परिमार्जन नगरे निर्वाचनको समयमा समस्या आउनसक्ने भन्दै शान्ति सुरक्षासम्बद्ध निकाय र गृह मन्त्रालयलाई समयमै तयारीका लागि आग्रहसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विगतमा गरिएको जोखिम वर्गीकरण यसपटक केही फरक देखिनसक्ने भन्दै सोहीअनुसार रणनीति अपनाएर तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

“उम्मेदवार, पुराना र नयाँ शक्तिबीचको द्वन्द्व तथा शक्ति सङ्घर्षका कारण कतिपय स्थानमा शान्त मानिएका क्षेत्र जोखिमयुक्त र जोखिम मानिएका क्षेत्र सामान्य हुनसक्ने सम्भावना छ । त्यसैले निर्वाचनको विकल्प निर्वाचन मात्र हो, अरु कुनै विकल्प छैन भन्ने ध्येयका साथ सबैले निर्वाचन सफल बनाउन आवश्यक सहयोग गर्न मेरो आग्रह छ”, उहाँको भनाइ थियो ।

भण्डारीले गृह मन्त्रालयले शान्ति सुरक्षाका विषयमा आवश्यक प्रत्याभूति गरिसकेको र निर्वाचन आयोग तथा सरकारबीचको छलफलबाट सुरक्षामा कुनै कमजोरी नरहेको प्रतिबद्धता जनाइएको बताउनुभयो । उहाँले फागुन २१ गते हुने निर्वाचनका लागि मौजुदा कानुनअनुसार कार्यविधि, निर्देशिका र आचारसंहिता पनि तर्जुमा भइसकेको जानकारी गराउँदै अब दलीय सहमति र सरकारसँगको समन्वयमा आचारसंहिता लागू गरिने उल्लेख गर्नुभयो ।

बैठकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम पेस गर्ने समय परिवर्तन गर्दा निर्वाचन प्रक्रियामा धक्का लाग्ने भन्दै समय परिवर्तन नगर्न राजनीतिक दलसमक्ष आयोगले आग्रहसमेत गरेको छ । घोषित निर्वाचन गर्न छोटो समय र सीमित जनशक्ति रहेकाले तालिका परिवर्तन गर्दा असहज हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर