काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा आफ्नो अवधारणा पत्र बुझाउनुभएको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेलमार्फत उहाँले सो अवधारणापत्र बुझाउनुभएको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई लेखिएको ‘अवधारणा–पत्र’ पार्टी महासचिव पोखरेललाई बुझाउनु भएको हो । अध्यक्ष ओलीलाई बुझाउने भनेता पनि समय नमिलेपछि महासचिव पोखरेललाई उहाँले ‘अवधारणा–पत्र’ बुझाउनु भएको हो ।

अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गर्नुभएको छ । उहाँले महाधिवेशनमा छलफलका लागि तयार पारिएको ‘अवधारणा–पत्र’ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरी प्रतिनिधिको बिचमा छलफल गर्ने समेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि मुलुकमा असाधरण फेरबदल भएकाले पार्टीले लिएका नीति र कार्यनीतिका समस्याबारे पुनः मूल्याङ्कन गर्नुपर्ने बताउनु भएको छ ।

“राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको आवश्यकता देखिएको छ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न जरुरी भएको छ,” उहाँले अवधारणा पत्रमा उल्लेख गर्नुभएको छ ।

अवधारणा पत्र बुझाउन वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईसमेत गएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर