काठमाडौँ, १९ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन ।” उहाँले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटैमात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन, हामी जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ, राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ, सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ, सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ, प्रहरीले निरन्तर कानुनीराज स्थापनाका लागि काम गरिरहेको छ ।”

प्रधानमन्त्री कार्कीले आज भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गर्नुभयो । “आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ, समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो, कहीँकतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् ।”

उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला, तर यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो ।” युवा विद्रोहपछि विकल्पका रूपमा वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि आएको प्रष्ट पार्दै सरकारको विरुद्धमा अदालतबाट अन्तरिम आदेश भएको परिस्थिति फरक हुनसक्ने बताउनुभयो ।

जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उहाँको भनाइ छ । “मुलुकप्रति हामी सबैको दायित्व छ । मुलुकले एउटा बाटो पाओस्, जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्, तर २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो । यो कसले किन गरेको, अध्ययनले बताउने नै छ”, उहाँले भन्नुभयो ।

तर, उहाँले आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता व्यक्त गर्दै हिंस्रक र हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्नेमा जोड दिनुभयो । “काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो । ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ, ललितपुरका जनताले धेरै ठाउँमा विध्वंशको प्रतिकार गरेको देखियो । यसरी खराब तत्वलाई रोक्ने सामथ्र्य पनि समाजमा हुनुपर्छ, हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो । यसमा हामीले क्षमायाचना पनि गरौँ ।” उहाँले सरकारको कुनै पनि निजी स्वार्थ र आकाङ्क्षा नभएको प्रस्ट पार्दै केही अतिरिक्त प्राप्तिका लागि सरकारले कुनै पनि नगरेको बताउनुभयो ।

‘निर्वाचनमा जान हामी तयार छौँ’
नेपाली कांग्रेसको नेत्री पुष्पा भुसालले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उहाँले निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्र गर्नुभयो । बैठकबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “यो बैठकमा सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा सहभागी हुन हामी तयार छौँ, तर त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको हो ।”

बैठकमा उहाँले आफ्नो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यो अब निर्वाचनबाट मात्रै संविधानले प्राप्त गरेको उपलब्धिलाई प्राप्त गर्नेछ भनेर निर्णय गरेका छौँ ।”

त्यसैगरी सोही बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रकाश ज्वालाले भन्नुभयो, “सरकारको काम निर्वाचन गराउने हो, त्यसैले सरकारको अर्जुन दृष्टि निर्वाचन हुनुप¥यो । चुनावको वातावरणको निम्ति शान्ति सुरक्षा अझै सुदृढ गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले बैठकमा निर्वाचनबारे शान्ति सुरक्षा, विदेशमा रहेका नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकले त्यहीबाट मतदान गर्न पाउने विषय उठाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर