राँझा (बाँके), ४ मङ्सिरः बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।

यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो । सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने, रोग र कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरू यसको साटो ‘हाइब्रिड’ धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च तहका व्यक्तिदेखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकाले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन् । मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो । यो करिब १४० दिनमा तयार हुन्छ । “विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागेँ”, सूचना अधिकारी पाठकले भन्नुभयो, “कालानमकको खेती शून्य प्रायः भएपछि हाल यसको प्रवर्द्धन र प्रचारमा लागेका छाँै ।”

बाँकेमा यस वर्ष ३४ हजार १९० हेक्टर जमिनमा धानखेती हुँदा कालानमकलगायत परम्परागत जातको धानखेती क्षेत्र गणनामा नै छैन । परम्परागत कालानमक संरक्षणका लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा प्रचारप्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियामा प्रयोग गरेर यसको प्रचार गरिएको छ ।

पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले हाल होचो बीउ प्रयोगमा ल्याइएको परिषद्ले जनाएको छ । किसानले रासायनिक मल धेरै हाल्ने भएकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको वरिष्ठ बागवानी विकास अधिकृत पाठकले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा हाल बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरीले एक हेक्टर क्षेत्रफलमा कालानमक धानको खेती गरिरहनुभएको छ । धान पाकिसकेकाले केही दिनमा भित्र्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

पाँच वर्षदेखि कालानमक र कुइनुर बासमती धानको खेती गर्दै आउनुभएका चौधरीले एक हेक्टर क्षेत्रफलमा करिब ३० क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । अन्य धान स्याहारी सकेकाले यतिबेला कालानमक धानमा चरा, मुसा र कीराको सङ्क्रमण बढेको उहाँको भनाइ छ ।

कालानमक चामल बिक्रीमा भने समस्या छैन । अन्य धानको मूल्य करिब रु तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रतिक्विन्टल रु १० हजारमा बिक्री हुने गरेको छ । बजार माग पनि राम्रै रहेको चौधरीले बताउनुभयो ।

यसको उत्पादनमा नै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो परेको जनाइएको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र समस्या हुने गरेको कृषक चौधरीले बताउनुभयो ।

बाँकेमा किसानले रामधान, राधा—४, एमपी ६०, गोरखनाथलगायत ‘हाइब्रिड’ धान रोप्दै आएका छन् । मसिनो चामललाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेको भनाइ छ । त्यसैले उत्पादन बढाउन प्रवर्द्धनात्मक कार्यक्रम लागू गरिएको छ । मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको घिमिरेले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर