काठमाडौ, २६ कात्तिक । आज नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.३३ अंक, फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो ।
नेप्से घटेपनि कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार २२ करोडले वृद्धि भएको छ । बुधबार ३२१ स्टकको ६६ हजार ८२४ पटकको कारोबारमा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँबराबरको ८४ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ३ अर्ब ६२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
बुधबार भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ८.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भयो। कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता उक्त कम्पनीप्रति आकर्षित भएका हुन्। बुधबार राधी विद्युत कम्पनी र साहस उर्जाले पनि उल्लेख्य कारोबार गरे ।
१३ उपसमूहमध्ये बुधबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूहको कारोबार घटेको छ ।
