काठमाडौँ, २२ जेठ । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी ८४ वर्षीय महेश्वरलाल श्रेष्ठको आज विहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भयो । नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहनु भएका स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसमा एक सरल र निष्ठावान नेताका रुपमा चिनिनु हुन्थ्यो । वीपी, सुवर्ण शम्शेर, गणेशमानजी लगायतका नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको सहयात्रीको रुपमा रहेर उहाँले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको थियो । यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सम्पत्ति समेत सर्वश्वहरण गरेको थियो र लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवन समेत व्यतित गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— ‘नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा महेश्वरलाल श्रेष्ठको निधनको खबरले मलाई मर्माहत र दुःखीत बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।‘
