काठमाण्डौ, ७ कार्तिक । रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ। सो दुर्घटना स्थानीय बाफिकोट गाउँपालिका–७ लिस्नेमा भएको हो । दुर्घटना साँझ साढे ५ बजेतिर भएको हो ।
यो जानकारी त्यहाँको जिल्ला प्रहरी कार्यालयबाट प्रप्त भएको हो । प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी थप १० जना घाइते भएका छन्।
खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप लिस्नेको सडकबाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावतको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिपुनको कमाण्डमा ११ जनाको टोली घटनास्थल पुग्दैछ।
