
सियोल, ५ कात्तिक । उत्तर कोरियाले बुधबार बिहान धेरैवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताहरू दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू मानिएका धेरै प्रोजेक्टाइलहरू’ पत्ता लगाइएको छ । ती मिसाइलहरू राजधानी प्योङयाङको दक्षिणी क्षेत्रबाट बुधबार बिहान करिब ८ः१० बजे (मङ्गलबार २३१० जिएमटी)प्रक्षेपण गरिएको थियो । सियोलको सेनाले ती क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर (२१७ माइल) दूरीमा उडेको जानकारी दिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले पदभार सम्हालेपछि यो पहिलोपटक भएको क्षेप्यास्त्र परीक्षण हो । यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग सम्भावित भेटबारे सङ्केत गर्नुभएको छ । उहाँले आफ्नो पहिलो कार्यकालमा किमसँग भएका उच्चस्तरीय बैठकहरू स्मरण गर्दै यस वर्ष पुनः वार्ताको आशा व्यक्त गर्नुभएको हो ।
उत्तर कोरियाको सरकारी मिडियाले पनि किमले भविष्यको संवादका ढोका खुला रहेको सङ्केत गर्दै अमेरिकालाई ‘प्योङयाङले आणविक हतियार त्याग्ने भ्रमपूर्ण माग त्याग्न’ चेतावनी दिएको छ ।
यसअघि प्योङयाङले रुस र चीनका शीर्ष अधिकारीहरूको उपस्थितिमा आयोजित सैन्य परेडमा आफ्नो ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल ह्वासोङ–२० प्रदर्शन गरेको थियो । राज्य मिडियाले उक्त मिसाइलको प्रहार दूरी ‘कुनै सीमा थाहा छैन’ भनेर दाबी गरेको थियो ।
सेप्टेम्बर महिनामा किमले लामो दूरीका आणविक क्षेप्यास्त्रका लागि प्रयोग हुने ठोस इन्धन इन्जिनको परीक्षण निरीक्षण गर्नुभएको थियो । राज्य मिडियाका अनुसार यो नवौँ र अन्तिम परीक्षण थियो, जसले निकट भविष्यमा नयाँ आइसिबिएमको पूर्ण परीक्षण हुने सङ्केत गरेको छ ।
सियोलस्थित इव्हा वुमेन्स युनिभर्सिटीका प्राध्यापक पार्क वोन–गोनका अनुसार, यो प्रक्षेपण राष्ट्रपति ट्रम्प र उहाँका पछिल्ला गतिविधिहरूको प्रत्यक्ष प्रतिक्रिया हो । उहाँले भन्नुभयो, “किम जोङ–उनले सियोलमा हुने कार्यक्रमका बीच आफ्नो शासनको शक्ति र उपस्थिति देखाउने प्रयास गर्दैहुनुहुन्छ, जसरी उहाँले पहिले पनि गरिसक्नुभएको छ ।”
ट्रम्प आगामी अक्टोबर २९ मा एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुग्ने कार्यक्रम छ ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिकी भू–भागसम्म पुग्ने क्षमताका मिसाइलहरूको परीक्षण गर्दै आएको छ । तर, प्योङयाङले बारम्बार आफ्नो आणविक कार्यक्रम त्याग्ने कुनै योजना नरहेको बताउँदै आएको छ ।
किम जोङ–उनले अमेरिकी नेतासँगको अघिल्ला तीन उच्च–स्तरीय बैठकहरू स्मरण गर्दै सेप्टेम्बरमा भन्नुभएको थियो, “यदि संयुक्त राज्य अमेरिकाले आणविक निःशस्त्रीकरणको भ्रम त्याग्छ र सह–अस्तित्वको चाहना राख्छ भने शान्तिको बाटो असम्भव छैन ।”
प्योङयाङ हाल पनि संयुक्त राष्ट्रसङ्घको कडा प्रतिबन्धको सामना गरिरहेको छ, तर उसले रुस र चीनसँगको पुरानो साझेदारीलाई अझ बलियो बनाउँदै आएको छ । एएफपी