
काठमाडौँ, ३ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताउनुभएको छ ।
विपिन जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
जोशीप्रति आज यहाँ श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले भन्नुभयो, “जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताउनुभयो । उहाँले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गर्नुभयो ।
“हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो”,प्रधानमन्त्री कार्कीले भन्नुभयो,“उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको शिकार हुँदा कति दुःखकष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।”
विपिन जोशी सबैका छोरा भएको र उहाँको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताउनुभयो । “विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्”, उहाँले भन्नुभयो ।
जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित उहाँको घरमा पु¥याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासको समन्वय र इजरायली सरकारको सहकार्यमा मृतक जोशीको शव नेपाल ल्याइएको हो ।
यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पु¥याइएको छ । पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको छ ।
गत ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाई गाजातर्फ लगिएको थियो । आक्रमणमा परी १० जना निर्दोष नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो ।
बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै प्रकारका प्रयास र पहल गरेको थियो । तथापि, इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा जोशीको निधनको जानकारी गराएको थियो ।