काठमाडौँ,२० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला नपरेको जनाएको छ ।
बेलायती ट्याब्लोइड अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले सो उल्लेख गरेको हो ।
मन्त्रालयले विज्ञप्तिमा आधिकारिक सूचना जानकारी नलिइ नयाँ भेरियन्ट पत्ता लागेको भसन प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई जिम्मेवार बन्न समेत सचेत गराएको छ ।
यसैवीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ ।
डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो ।
डब्लुएचओले नेपालमा सार्स कोभ२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत नभएको उल्लेख गरेको छ । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये हाल नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो भन्ने कुरा डब्लुएचओले स्पष्ट पारेको छ ।
