
काठमाडौँ, २४ असोज स् राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो ।
राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ रु’ भन्ने सोच्न पनि सबैलाई आग्रह गर्नुभयो । सबै राजनीतिक पार्टीले अन्योल सृजना नगरी जेनजी समूहको माग पूरा गर्ने उद्देश्यसहित जनतामाझ जान उहाँले अनुरोध गर्नुभयो ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गनुभएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।”
राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीगण र राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र वर्षामान पुन सहभागी हुनुहुन्छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी हुनुहुन्छ ।
यस्तै, जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी सहभागी हुनुहुन्छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच पहिलोपटक संवाद भएको हो ।