काठमाडौ, २४ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ।

नर्वेली पुरस्कार समितिले मचाडोलाई आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन्। गत वर्ष उनलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोकिएको थियो।

मचाडो नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन्। सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ। अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन्।

उनी गत वर्ष अगस्टदेखि भूमिगत छिन्। यद्यपि गत ज्यानुअरीमा आयोजित एउटा विरोधप्रदर्शनमा उनी देखा परेकी थिइन्। उनलाई पक्राउ गरेर केही समयपछि छोडिएको थियो।

भेनेजुएलामा निरङ्कुश शासनव्यवस्था छ। भेनेजुएलामा निकोलस मदुरो तेस्रो पटक राष्ट्रपति बनेपछि उनीविरुद्ध र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न भन्दै सुरु भएको आन्दोलनमा मचाडो अग्रमोर्चामा देखिएकी थिइन्।

गत वर्ष जापानी संस्था निहन हिडन्क्योलाई विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणुअस्त्र पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले पुरस्कृत गरिएको थियो।

निहन हिडन्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानका दुई सहर हिरोशिमा र नागासाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।

यो वर्ष शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो। उनी लामो समयदेखि उक्त पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।

उनको कार्यकाल सुरु भएको ज्यानुअरी महिनामै शान्ति पुरस्कारका लागि मनोनयन गर्नुपर्ने समयसीमा टुङ्गिएको थियो।

पुरस्कार घोषणा भएपछि आयोजित पत्रकार सम्मेलनमा नोबेल शान्ति समितिका अध्यक्षलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफैँले र अन्य अन्तर्राष्ट्रिय पक्षले ट्रम्पलाई पुरस्कृत गर्न दबाव दिए नदिएको‍बारे प्रश्न गरिएको थियो।

उत्तर दिँदै योर्गन भ्याट्न फ्रुएड्नसले नोबेल शान्ति पुरस्कारको लामो इतिहासमा समितिले अनेकौँ अभियान र मिडिया टेन्शन खेप्दै आएको बताए। हामी केवल काम र अल्फ्रेड नोबेलको इच्छालाई आफ्नो निर्णयको आधार बनाउँछौँ, उनले भने।

उनका अनुसार मचाडोको हकमा अल्फ्रेड नोबेलले पुरस्कारका लागि तोकेका ूसबै मापदण्ड पुगेको छ।

उनले देशको प्रतिपक्षलाई एकजुट बनाएकी छन्, प्रजातन्त्रतर्फको शान्तिपूर्ण यात्राका लागि आफ्नो सहयोगमा उनी कटिबद्ध छिन्।

उनका अनुसार मचाडोले प्रजातन्त्रका साधनहरू नै शान्तिका साधन हुन्भ न्ने देखाएकी छन्।

अहिलेसम्म सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति पाकिस्तानकी मलाला युसुफ्जाई हुन्। पुरस्कृत हुँदा उनी १७ वर्षकी थिइन्

सन् १९९५ मा शान्ति पुरस्कार पाउँदा जोसफ रट्ब्ल्याट ८६ वर्षका थिए। अन्तर्राष्ट्रिय राजनीतिमा परमाणुअस्त्रको भूमिका घटाउने र त्यस्ता अस्त्र निर्मूल गर्ने प्रयासका लागि उनलाई उक्त सम्मान दिइएको थियो। उनी परमाणुअस्त्रको विरोधमा प्रखर रूपमा उभिएका वैज्ञानिक थिए।
अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। ूअन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकालेू उनलाई नोबेल पुरस्कार दिइएको थियो।

तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनुभन्दा केही दिनअघि मात्र ओबामा राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर ९सन् २००२०, युरोपेली सङ्घ ९सन् २०१२०, संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा)र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।

युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्।
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टक्होममा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ। बीबीसी

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर