काठमाडौं, २४ भदौ । जेनजीले अपिल प्रकाशित गर्दै आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन र सार्वजनिक सम्पति सबैको साझा सम्पत्ति हो भन्दै सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ।
अपिलमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनकारीहरूको योगदानप्रति आभार व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपिलमा भनिएको छ, हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ। यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।
जेनजी देश नयाँ नेतृत्वतर्फ गएको दाबी गर्दै आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन आह्वान गरेको छ।
आन्दोलनले नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको जनाउँदै संयम र धैर्यका साथ अघि बढ्न आग्रह गरेको छ। ुहाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो, अपिलमा भनिएको छ।
जेनजी आन्दोलनले सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाउने उल्लेख गर्दै आगामी यात्रामा एकजुट रहन आह्वान समेत गरेको छ।
