काठमाण्डौं, २४ भदौ । प्रदर्शाकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा आज आगो लगाइ दएका छन् ।
त्यसैगरी उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पनि आगो लगाए । त्यतिबेला देउवा घरमा थिएनन् । उनी बिहानै घरबाट बाहिर गैसकेका थिए ।
उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौं, बोहोराटारस्थित निजी निवासमा पनि आजै प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
हिजो सोमबार भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गोली चलाएर १९ जना युवा विद्यार्थीको हत्या गरेको थियो ।
सरकारले गरेको यो हत्या र दमनबाट आक्रोशित प्रदर्शनकारीले नेताहरूको घरघरमा आगो लगाउने र पार्टी कार्यालयहरूमा तोडफोड गर्ने काम गरेका हुन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा पनि आगजानी गरेका छन् । मंगलबार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
आन्दोलनकारीले निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा पनि आगो लगाइदिए । आज बिहान काठमाडौँको नैकापमा रहेको उनको घरमा आन्दोलनकारीले आगो लगाएका हुन् । लेखकले गृहमन्त्री पदबाट राजिनामा दिइसकेका छन् ।
त्यसैगरी काठमाडौंको रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको घरमा पनि प्रदर्शनकारीले ढुंगामुढा र तोडफोडसहित आगो लगाए । सुरुमा ढुंगामुढा प्रहार गरेकोमा प्रहरीले हटाउने प्रयास गरेको थियो । हवाई फायर गर्दा पनि नहटेका उनीहरूले आगो लगाएका हुन् । थापाको घरमा राखिएको गाडी पनि जलाएका छन्।
कांग्रेस नेता विमलेन्द्र निधिको मध्य बानेश्वरमा भएको घरमा आन्दोलनकारीले आगो लगाए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता एवं ऊर्जा मन्त्री दीपक खड्काको घरमा आगलागी भएको छ । उनको निजी निवास बूढानीलकण्ठमा रहेको घरमा प्रदर्शनीकारीले आगो लगाएका हुन् ।
नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बाँस्कोटाको घरमा आगो लगाइएको छ । उनको भक्तपुरमा रहेको घरमा आन्दोलनकारीले आगो लगाएका हुन् ।
प्रदर्शनकारीहरूले नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेको स्वयंभूस्थित घरमा पनि आगो लगाइदिएका छन्।
नेकपा (एमाले)का सचिव तथा सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–९, भरमपुरीमा रहेको उनको घरमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाएका हुन्।
