अफगानिस्तान, १६ भदौ । पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निट्यूडको भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८०० पुगेको र घाइतेको सङ्ख्या कम्तीमा २,५०० रहेको तालिबानको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ।

स्थानीय समयानुसार आइतवार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा जमिनभन्दा आठ किलोमिटर तल रहेको बताइएको छ।

दुर्गम भेगबाट सूचना आउन बाँकी नै भएकाले हताहत हुने मानिसको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

तालिबानका अनुसार कुनारमा ८०० मानिसको मृत्यु भएको छ भने नाङ्गर्हारमा पनि केही मानिसको शव फेला परेको छ।

प्रभावित क्षेत्रमा परकम्पहरू गइरहेका छन्। भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध भएका छन् भने उद्धारकार्य पनि प्रभावित भएको छ।
दुर्गम क्षेत्रमा उद्धारकार्यमा सघाउन तालिबान अधिकारीहरूले अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

पहिरो र बाढीका कारण त्यहाँका कतिपय भूकम्प प्रभावित इलाकामा हवाई उद्धार मात्र सम्भव देखिएको छ।

तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा बसोबास मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेको छ।

घाइतेहरूको उपचार र सहायताका लागि चिकित्सकहरू बोकेका कम्तीमा चारवटा हेलिकप्टरहरू कुनार प्रान्त पुगेको स्रोतहरूले बताएका छन्।

यसैबीच नाङ्गर्हार प्रान्तमा दर्जनौँको सङ्ख्यामा स्वयंसेवकहरू रक्तदान गर्न अस्पतालहरूमा पुगेका छन्।

भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरू हल्लाएको बताइएको छ। उक्त स्थान झन्डै ३०० किलोमिटर टाढा अवस्थित छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर