काठमाडौँ, १२ जेठ ।  काठमाडौँमा उपचार गराइरहनुभएका जाजरकोटका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपाने र हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

पूर्वसांसद न्यौपानेको निधन
सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

बुधवार राति उहाँको निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले बताउनुभयो । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी हुनुभएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी हुनुभएको थियो । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना हुनुभएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिेलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताउनुभयो । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो । छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा हुनुहुन्थ्यो ।

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गर्नुभयो । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “झापामै शव व्यवस्थापन हुन्छ ।”

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर