क्यानाडा, ३ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ।
ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उहाँ फर्कनुुे छ । मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उहाँ फर्कन लागेको बताइएको छ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गर्नुभएको थियो ।
त्यसबारे उनले थप विवरण दिएनन्। अमेरिकाले आफ्ना थप सैन्य स्रोतहरू उक्त क्षेत्रमा परिचालन गर्न लागेको छ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षास्थिति सुदृढ पार्न चाहेको बताउनुभयो।
तर बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएस न्यूजका अनुसार अधिकारीहरूले अमेरिका इजरेलको आक्रामक कारबाहीमा सामेल नहुने बताएका छन्।
जी सेभेन देशका नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पको पूर्ण ध्यान तानेर कुराकानी गर्न चाहिरहेका थिए।
तर राष्ट्रपति ट्रम्प पूर्व निर्धारितभन्दा एक दिन अगावै वाशिङ्टन फर्कनु हुने भएको छ ।
ह्वाइट हाउसले क्यानडा भ्रमणमा ट्रम्पले अपेक्षित सफलता प्राप्त गरिसकेको बताएको छ – जसमध्ये यूकेका प्रधानमन्त्री केअर स्टार्मरसँग ट्यारिफ सम्झौतामा हस्ताक्षरसहित।
ट्रम्प फर्किए पनि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई शिखर सम्मेलनका बाँकी बैठक आयोजना गर्नु पर्ने छ।
जी सेभेन समूहमा अमेरिका, यूके, क्यानडा, इटली, फ्रान्स, जर्मनी, र जापान छन्। साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ।
जी सेभेनको बैठकलाई बीचमै छाडेर ट्रम्प फर्किएको यो पहिलोपटक भने होइन।
सन् २०१८ मा क्यानडामा नै भएको शिखर बैठकलाई पनि ट्रम्पले बीचमै छाडेर उत्तर कोरियाली नेता किम जङ् अनसँग भेट्न जानुभएको थियो ।
यसपालि पनि उहाँ चाँडै बाहिरिने भएपछि प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले यदि अमेरिकाले युद्धविराम गराउँछ भने त्यो राम्रो कुरा हुने बताउुभयो ।
माक्रोँका अनुसार ट्रम्पले केही बेर अगाडि कुराकानीहरू भइरहेको उहाँलाई बताउुभएको थियो ।
इरानको सरकारी सञ्चार माध्यमले राजधानी तेहरानमा मङ्गलवार सबेरै विस्फोटनहरू भएका विवरण दिएको छ।
इजरेलले त्यहाँको उत्तरपूर्वी क्षेत्रबाट मानिसहरूलाई घर छाडेर जान भने लगत्तै ती विस्फोटन भएका हुन्।
इजरेलमा पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको सङ्केत पाएपछि मानिसहरूलाई सुरक्षित रहन बजाइएका साइरनका आवाज आएका छन्।
इजरेली सेनाले इरानबाट उत्पन्न खतरा निमिट्यान्न पार्न काम गरिरहेको बताएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले इरानविरुद्धको सैन्य कारबाहीले मध्यपूर्व बदलिइरहेको बताउनुभयो । इरानको सत्ता बताइएको भन्दा कमजोर रहेको त्यहाँका मानिसहरूले चाल पाइरहेको उहाँले बताउनुभयो। बीबीसी
