काठमाडौँ, ३० जेठ । राष्ट्रियसभा सदस्यहरूले मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका दलहरूबीच सहकार्यको खाँचो औँल्याउनुएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै जनअपेक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद नारायणदत्त मिश्रले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सदनमा एकापसमा अरोपप्रत्यारोपमा उत्रँदा लोकतन्त्रविरोधी शक्तिले चलखेल गर्ने स्थान पाएको बताउनुभयो ।
सांसद मदनकुमारी शाह (गरिमा)ले राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका दलहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि पनि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद जगप्रसाद शर्माले राजनीतिक परिवर्तन पछिको नयाँ अर्थव् यवस्था विभिन्न समस्यामा अल्झेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारीमा जोड दिनुपर्ने बताउनुभयो ।
